logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लागि २० लाखको राहत सामग्री

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १८ भाद्र २०८३, बिहीबार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा सक्रिय बुद्धभूमि युथ सोसाइटीले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित तथा मृतकका परिवारका लागि करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी पठाएको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सोसाइटीले स्थानीय बजारमा टेन्ट राखेर राहत संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमा स्थानीय बासिन्दाले खाद्य सामग्री, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए।

स्थानीयबाट संकलित खाद्य सामग्री, लत्ताकपडा लगायतका राहत सामग्री चार वटा पिकअप गाडीमा राखेर रसुवातर्फ पठाइएको हो। बुद्धभूमि युथ सोसाइटीका अनुसार राहत सामग्री बोकेका चारवटै गाडी विदुर नगरपालिका पुगिसकेका छन्।

राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन बुद्धभूमि युथ सोसाइटीका तर्फबाट सन्दीप खड्का, सुबिन श्रेष्ठ, सागर मल्ल, सौगात भुसाल, अमन थारु, विशाल घिमिरे र सन्दीप बुढाथोकी गरी सात जना सदस्य टोलीमा सहभागी छन्।

टोलीले सम्बन्धित स्थानीय निकाय तथा सरोकारवालासँग समन्वय गरी संकलित राहत सामग्री बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारसम्म पुर्‍याउने जनाएको छ।

बुद्धभूमि युथ सोसाइटीले विपद्को समयमा मानवीय सहयोग जुटाउनेदेखि विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। स्थानीयस्तरमा सामाजिक सेवाका क्षेत्रमा अग्रस्थानमा रहँदै आएको सोसाइटीले यसपटक पनि स्थानीय नागरिकको सहयोग र सहभागितामा ठूलो परिमाणमा राहत सामग्री संकलन गरेको हो।

राहत संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा, सहयोगदाता, व्यवसायी तथा शुभेच्छुकप्रति बुद्धभूमि युथ सोसाइटीले धन्यवाद व्यक्त गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।